नेपाल आमाको राष्टसेवक तथा गाउँ देखि शहरलाई उज्यालो बनाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि आइतबार सकिँदैछ । भदौ २९ गतेदेखि उनको ४ वर्षे कार्यकाल सकिन लागेको हो । कार्यकाल सकिन लागेपछि प्राधिकरणमा उनलाई निरन्तरता दिने कि नदिने भन्ने बहस सुरु भएको छ ।
अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने जनचासो छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार अब छिट्टै कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन जनस्तरबाट सरकारमाथि दबाव छ । आइतबार राति १२ बजे घिसिङको कार्यकाल सकिँदैछ, भने मन्त्रिपरिषदको बैठक सोमबारमात्रै बस्ने तय छ ।
कार्यकाल सकिनुअघि नै कुलमानको पुनर्नियुक्ति हुने सम्भावना लगभग टुंगिएको छ । अहिलेसम्म मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने, कुलमानलाई निरन्तरता दिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे प्रस्ताव नै तयार गरेको छैन । सोही कारण अब कुलमान दोहोरिने सम्भावना कम हुँदै गएको छ ।
घिसिङलाई नदोहोर्याउने हो भने प्राधिकरणमा हाल उपकार्यकारी निर्देशक रहेका हरराज न्यौपाने प्रवल दावेदारका रुपमा छन् । तत्कालै कुलमानको विकल्पमा अर्को व्यक्ति ल्याउँदा जनस्तरमा विरोध बढ्ने भएकाले ऊर्जामन्त्री वर्षमान पुनले न्यौपानेलाई नै निमित्त दिन चाहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
त्यसैले कुलमान नियुक्त नभएको अवस्थामा न्यौपानेले निमित्त जिम्मेवारी सम्हाल्ने सम्भावना धेरै छ । कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ । लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ ।
तर, उर्जामन्त्रीदेखि सरकारका उच्च अधिकारीहरु नै पछिल्लो समय कुलमानको विकल्पबारे छलफल अघि बढाइएका छन् । तात्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको दशौं तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २६ गतेको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।
Recent Comments