logo
Advertisement

लकडाउनमा चेपाङ गाउँको व्यथा : सांझ बिहान छाक टार्ने कुनै उपाय छैन्

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

मकै उम्रेपछि जोडले असिना पर्‍यो । आफ्नै बारीको उब्जनीले वर्षभरि खान पुग्ने चेपाङहरु निकै कम छन् । ६ महिना सहकाल र ६ महिना अनिकालमा बाँच्नु चेपाङहरुको पुस्तैनी बाध्यता हो । चितवन — इन्द्रमाया चेपाङ साँघुरो घरभित्र अँगेनाको आडमा रहेको जाँतोमा मकै पिस्दै थिइन् । साथमा ससाना दुई बालिका पनि थिए । दिउँसो पाखोबारीको मकै गोडेर उनी घाम अस्ताउनै लाग्दा मकै पिस्न जुटेकी थिइन् । बारीको मकै एक बित्ताभन्दा अग्लो छैन । ढुंग्याने जमिनको बाली भदौ लागेपछि बल्ल स्याहार्ने हो ।

जाँतो आडैको नाङ्लोमा दुई मानाभन्दा बढी मकै छैन । ‘अब घरमा बाँकी मकै एक डोका पनि छैन,’ उनले भनिन् । मकै सकिएपछि के गर्ने त ? प्रश्न सुन्नासाथ उनी जाँतो घुमाउन छाडेर बाहिर निस्किन् । आडैमा दुईवटा डोकाभरि गिट्ठा थिए । एउटा डोको अगाडि ल्याउँदै उनले भनिन्, ‘पिठो, फाँडोसँग यही गिट्ठा मिसाएर छाक टार्ने ।’ उनीहरु सिस्नोको मुन्टा टिपेर तरकारी बनाउँछन् । गिट्ठा तरुलजस्तो लहरा र पात हुने बिरुवामा लाग्ने फल हो । यो तितो हुन्छ ।

काटेर पातलो चाना बनाएपछि तितो नहोस् भनेर पानीमा खरानी मिसाएर रातभर पकाउनुपर्छ । चेपाङहरु वनमा हुने तरुल र भ्याकुर पनि यो बेला खोजेर राख्छन् । चेपाङ अगुवाका अनुसार राम्रोसँग नपकाई खाए भ्याकुरले फाइदा होइन बेफाइदा गर्छ । चितवनको पूर्वी भेगमा पर्छ राप्ती नगरपालिका । भरतपुरदेखि २० किलोमिटर पूर्वमा रहेको भण्डारा बजारमा नगरपालिकाको कार्यालय छ । त्यहाँबाट जिप चढेर उत्तर लागेपछि पहाडी बाटो हुँदै ३ घन्टामा कालिटार पुगिन्छ । कालिटारसम्म हिउँदमा जिप चल्छन् ।

कालिटारभन्दा पर पश्चिम-उत्तरमा छ, इन्द्रमायाको घर भएको गाउँ डबल टाक्साई । राप्ती नगरपालिका–१३ मा पर्ने यो गाउँमा घरहरु टाढाटाढा छन् ।
कालिटारबाट पैदल डेढ घन्टामा डबल टाक्साई पुगिन्छ । यो ठाउँ राप्ती नगरपालिकाको १३ नम्बर वडामा पर्छ । नगरपालिका भए पनि सडक र बिजुली छैन । उकालो भिरालो ठाउँमा फाट्टफुट्ट घरहरु छन् ।

ठाउँ दुर्गम र विकट छ । त्यहाँबाट करिब ३ घन्टा उकाली-ओराली हिँडेपछि कान्दा गाउँ पुगिन्छ । कान्दाका चेकराम चेपाङ मेहनती व्यक्ति हुन् । राम्रोसँग खेती गर्ने भएका कारण उनले अरुले जस्तो अनिकालको सामाना गर्नु पर्दैन । तर, यसपटक चेकरामको मनमा पनि डर पसेको छ । उनको मकैबारीमा अहिले मकैका साना बुटासँगै तोरी पनि देखिन्छ ।

यो तोरीसँग विनाश जोडिएको छ । ‘हिउँदमा पाकेको तोरी उखेलेर उठाउन नपाउँदै असिना आएर सबै माटोमा मिसाइदियो । मकै छरेपछि त्यो तोरी उम्रियो । अनि अर्को आपत् मकै उम्रेपछि पनि जोडले असिना आयो । मकै हुर्कनै सकेको छैन । यो वर्ष मलाई पनि अनिकाल लाउँछ,’ चेकरामले भने ।

Recent Comments

Top