logo
Advertisement

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मधेशी दलका नेतामाझ निरिह, नयां शक्तीका संयोजक जसपामा तेस्रो बरियतामा

८ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरण भए पनि कार्यविभाजनमा कुरा नमिल्दा पार्टी दर्ता प्रक्रिया नै प्रभावित भएको छ । दल दर्ता प्रयोजनका लागि जिल्ला जिल्लाबाट दुवै दलका केन्द्रीय सदस्यहरुको हस्ताक्षर आइसकेको छ तर पार्टी कसको अध्यक्षतामा दर्ता हुने, कुन नेताको पदीय दायित्व के हुने भन्ने टुगों नलागेका कारण दर्ता प्रक्रिया प्रभावित भएको हो ।

तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पावर सेयरिङ्ग गर्न नचाहेका कारण पार्टी एकीकरणको टुङ्गो लाग्न समय लागेको तत्कालीन राजपा नेपालका एक पदाधिकारीको आरोप छ । ‘यादवजी आफ्नो पार्टी फुट्न लाग्दा जे जुन अवस्थामा छ, पार्टी एकता गरौं भनेर सादा कागजमा हस्ताक्षर गर्न पनि त्यतिबेला तयार थिए,’ उनले भने । तर अहिले विभिन्न बहाना बनाउँदै पार्टी एकीकरणबाट उपेन्द्र यादव पन्छिने गरेको तत्कालीन राजपा नेपालका नेताहरुको आरोप छ ।

उपेन्द्र यादवले राजपा नेपालका कुनै पनि नेतालाई कार्यकारी पद दिन चाहेका छैनन् । पार्टी एकीकरणको समयमा उपेन्द्र यादवले आफूलाई जे पद दिए पनि आफू लिन तयार रहेको बताएका थिए । त्यतिबेला महन्थ ठाकुरलाई वरियताक्रमको पहिलो नम्बरमा राख्ने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने, केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव र कार्यकारीणी समितिको अध्यक्ष राजेन्द्र महतोलाई दिने भद्र सहमति भएको नेताहरुको दावी छ । तर अहिले आएर उपेन्द्र यादवले केन्द्रीय समिति र कार्यकारिणी समिति पनि आफैसँग राख्ने भनेका छन् ।

यहाँसम्म कि राजनीतिक समिति पनि आफैसँग राख्ने अडान लिएपछि एकीकृत पार्टीमा विवाद उत्पन्न भएको छ । जसपा नेपालका नेता महेन्द्रराय यादव भने पार्टीमा कुनै प्रकारको विवाद नरहेको दावी गर्छन् । उनी भन्छन्, ‘पार्टीमा कुनै विवाद छैन, नेताहरुको बीचमा छलफल चलिरहेको छ, चाँडै नै पार्टी दर्ताका प्रकृयामा जान्छ ।’ वैशाख ३० गते एकीकरण टुङ्गो लगाउनका लागि बैठक बसेको थियो, त्यसपछि कुनै बैठक बसेको छैन ।

एकीकृत पार्टीको कार्यविभाजन लगायतका विषयमा टुगों लगाउन नौजनाको निर्देशन समिति बने पनि पछिल्लो समय तत्कालीन समाजवादी पार्टीको तर्फबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र तत्कालीन राजपा नेपालको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले मात्र छलफल शुरु गरेका थिए । अहिले उनीहरुको बीचमा पनि छलफल रोकिएको स्रोतको दावी छ । तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतोले पनि आफूलाई कार्यकारी पद नै चाहिने अडान राखेका छन् ।

महन्थ ठाकुरलाई सेरेमोनियल भए पनि वरियताक्रमको पहिलो नम्बरमा राख्ने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष तथा कार्यकारिणीमा आफू र उपेन्द्र यादव रहने अथवा केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने हो भने कार्यकारिणी समितिको अध्यक्षमा आफू रहने अडान उनको रहेको स्रोतले दावी गरेको छ ।

Recent Comments

Top