logo
Advertisement

प्रधानमन्त्रीलाई मनका : कुरा सिमाना विवाद कहाँ रहेको छ भन्ने थाहा पाउन मनोज पण्डितको ‘सिमानाको खोजी’नामको डकुमेन्ट्री देखाउ

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

भारत र नेपालबीचको सिमाना विवाद एक ठाउँमा होइन, सयौं ठाउँमा छ । यो विवाद सल्टाउन नक्सा जारी गरेर हुँदैन । यसकालागि पहिलो विकल्प भनेको भारतसँग वार्ता नै हो । यसबाट नभए यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।अन्तर्राष्ट्रियकरण गरियो भने यो विवाद मिलाउन हामीलाई भन्दा भारतलाई हतार हुन्छ । अरुलाई लाग्दो होला भारतले हाम्रो जमीन पाएकै छ ।

ऊ किन विवाद मिलाउन खोज्दो होला र ? विवाद मिलाउनु भनेको उसको कब्जामा रहेको जमीन छोड्नु हो । सतहीरुपमा हेर्दा यो सही लाग्दछ । तर यसरी हेर्नू भनेको अन्तर्राष्ट्रिय राजनीतिक र भौगोलिक अवस्थितिलाई भारतिय पक्षबाट नबुझ्नु नै हो । कस्तो रहेको छ त भारतको अवस्था ? भारतसँग सिमाना जोडिएका राष्ट्रहरु मध्ये नेपाल त्यस्तो देश हो जोसँग उसको राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक सम्बन्ध रहेको छ र भारतको सबैभन्दा नजिकको मित्रराष्ट्र भनेको यश अर्थमा नेपाल नै हो ।

नेपालपछि भारतको मित्रवत सम्बन्ध रहेको देश भुटान हो । नेपाल र भुटान बाहेको भारतको सँधियारहरुसँग उसको सम्बन्ध दुश्मनको जस्तो रहेको छ । अहिले उसको सबैभन्दा ठूलो दुश्मन भनेको पाकिस्तान हो । व्यापारिक दृष्टिले नजिकिन खोजेपनि चीनसँग भारतको सम्बन्ध शत्रुतापुर्ण नै रहेको छ । बंग्लादेशसँग पनि भारतको सम्बन्ध मित्रवत रहेको छैन ।

यो अवस्थामा नेपाललाई चिढ्याउनु भनेको भारतलाई ठूलो घाटा लाग्नु हो ।अर्कोतर्फ भारत अब दक्षिण एशियाको क्षेत्रीय शक्तिमात्र रहन चाहँदैन । यो क्षेत्रको सबैभन्दा ठूलो, सम्पन्न र शक्तिशाली राष्ट्र भारत नै हो । यसलाई नकार्न सकिँदैन । अब यो विश्वकै एक शक्तिराष्ट्र बन्ने चाहना राख्दछ । केही वर्ष पहिले संयुक्त राष्ट्र संघले सुरक्षा परिषदमा रहेको भिटो पावर सहितको स्थायी सदस्यमा एउटा राष्ट्र निर्वाचित गर्ने कुरा चलेको थियो ।

भारत र जापान उम्मेद्वार रहने कुरा थियो । नेपाल केही समय मौन रहेर अन्त्यमा भारतलाई नै भोट दिने निर्णय गरेको थियो । यस्तो अवस्थामा नेपालले सिमाना विवादलाई अन्तर्राष्ट्रियकरण गर्‍यो भने भारतको बदनाम हुन्छ । अन्य राष्ट्रहरुले उसलाई भोट नगर्ने हुनसक्छ अर्थात् नस्विकार्न सक्छ्न् । नेपालले नै पनि आफ्नो निर्णयमाथी पुनर्विचार गर्न सक्छ । सिमाना विवाद अन्तर्राष्ट्रियकरण हुनु भारतका लागि विश्वकै शक्तिशाली राष्ट्रको लहरमा पुग्ने तगारो हो ।

उसले यसलाई रोक्न र सल्टाउन भरमग्दुर कोसिस गर्नेछ । नेपालले पनि भारतका लागि मार्गप्रसस्त गर्नु पर्दछ । त्यो भनेको भारतसँग वार्ताको प्रस्ताव गर्नै पर्दछ । भारतसँग धेरैपटक नेपालले दुइपक्षिय वार्ता त गरेको छ । तर आजसम्म सिमाना विवादको कुरा उठाएकै छैन । अझ अचम्मको कुरा त नेपालको भारत भ्रमणको टिममा सत्तापक्षको साथमा प्रतिपक्ष, पत्रकार, सुरक्षा निकायहरु सबै संलग्न हुन्छन् । तर अहिलेसम्म सिमाना विशेषज्ञ पर्ने गरेको छैन ।

नेपाल भारत सम्बन्ध र भारतकै सम्बन्धमा अध्ययन गरेर विशेषज्ञता प्राप्त गरेकाहरु को को छन् भन्ने बारेमा नेपालले खोजी समेत गरेको छैन । अब पहिलेजस्तो कामचलाउ सम्बन्धले हुँदैन । ठूलो छ किन चिढ्याउनु भन्ने सोचेर नेपाल भारत सम्बन्ध अघि बढ्दैन । सँधियार साट्न सकिँदैन । त्यसकारण अबको भारतसँगको सम्बन्ध सानो राष्ट्र र ठुलो राष्ट्रको सोचबाट माथि उठेर समनताको आधारमा हुनुपर्दछ । यसकालागि एउटा शसक्त वार्ता टोलि बनाइनु पर्दछ ।

सचिव स्तरिय, मन्त्री स्तरिय, प्रधानमन्त्री स्तरिय हरेक वार्ता टोलिमा कमसेकम एकजना सिमाना विशेषज्ञ, एकजना नेपाल भारत सम्बन्धको विशेषज्ञ र एकजना भारत सम्बन्धी विशेषज्ञ हुनु अनिवार्य छ । यस्ता विशेषज्ञहरु सरकारको हरेक राजकिय भ्रमणमा अनिवार्य हुनुपर्दछ । आफ्ना आसेपासेहरु लिएर रात्रीभोज र दिवाभोजको लागिमात्र हुने भ्रमणहरु रोकिनु पर्दछ ।

नेपालले सिमाना सम्बन्धी कुरा झिकेर भारतसँग वार्ताको कुरा उठाउँदा उसले अस्विकार गरेको खण्डमा यसलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ । त्यो बेला मात्र हो एकतर्फी नक्सा जारी गर्नुपर्ने अवस्था । यतिबेला नक्सा जारी गरेर हुने फाइदा भनेको नेपाल यस्तो पो रहेछ भनेर जानकारी गराउनु मात्र हो । अरुक्षेत्रमा भएको त्यो भन्दा धेरै र ठूलो सिमाना विवादलाई आँखा चिम्लेर स्विकारे जस्तो मात्र हो ।

बरु सिमाना विवाद कहाँ कहाँ रहेको छ भन्ने थाहा पाउन मनोज पण्डितको “सिमानाको खोजी” नामको डकुमेन्ट्री सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन व्हिप जारी गरेर प्रदेश र संघीय संसदमा देखाउने निर्णय गर्न सकोस् । अनि ती मिचिएका भूभाग नेपालको नक्सामा समेट्न नसकेपनि सरकारलाई राष्ट्रवादी मान्न सकिएला । नत्र यो जनताको सामु सुतुरमुर्गिय चाल मात्र हुनेछ, बालुवामा टाउको लुकाएर आफू सुरक्षित बन्न सकिँदैन ।

Recent Comments

Top