logo
Advertisement

निर्देशकहरू स्क्रिप्ट लेखनमै व्यस्त

७ बैशाख २०७७, आईतवार मा प्रकाशित

मुलुकमा जारी लकडाउनको समयलाई सर्जकहरूले सिर्जना गर्ने समयका रूपमा लिन थालेका छन् । एक-दुई साता नभएर एक-डेढ महिनादेखि नै लगातार मुलुक लकडाउन भएपछि सबै स्रष्टा घरमै बस्न बाध्य छन् । यो अवधिमा आफूहरू घरमै सिर्जना गरेर बसिरहेको उनीहरूको कथन छ ।

मुलुकमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उनीहरू घरमै बस्न बाध्य छन् । यसैक्रममा केही चलचित्र निर्देशकसँग उनीहरूको लकडाउनको दिनचर्याबारे हामीले जिज्ञासा राखेका थियौं । धेरैजसो निर्देशकले अहिले नयाँ चलचित्रको स्क्रिप्ट लेखनका क्रममा आफू व्यस्त रहेको राजधानीलाई बताए ।

२०७६ सालमा ‘६ माया छपक्कै’ निर्माण गरेकी निर्देशक दीपाश्री निरौला यतिबेला नयाँ चलचित्र ‘छक्कापन्जा ४’ को स्क्रिप्ट लेखनमै व्यस्त छिन् । छक्कापन्जाको विगतमा तीनवटा सफल सिरिज दिइसकेकी यी निर्देशकले भनिन्, ‘सुरुमा लकडाउनका कारण घरमा बस्दा निकै अत्यास लागे पनि आजकल बानी परियो । हामी अहिले नयाँ चलचित्र छक्कापन्जा ४ को स्क्रिप्ट लेखन र तयारीमा व्यस्त छौं,’ उनले अगाडि थपिन्, ‘दीपकराजजीले स्क्रिप्ट लेखिरहनुभएको छ भने जित, म र केदारले उहाँलाई प्लट लेखन र डायलगमा सघाइरहेको छौं ।’ आफ्नो चलचित्र छक्कापन्जा ४ आगामी ७ कात्तिकमा रिलिज गर्ने समयसमेत लिइसकेकी यी निर्देशकले लकडाउन खुलेको दुई साताभित्रै आफूहरू यो चलचित्रको छायांकनमा जाने बताइन् ।

नयाँ चलचित्र स्क्रिप्टमै व्यस्त रहेको अर्का निर्देशक रमेश बुढाथोकी हुन् । उनको नयाँ चलचित्र ‘सुदूर’को वैशाख अन्तिमबाट छायांकनको तयारी हुँदै थियो । तर, कोरोनाको महामारी र निरन्तर लकडाउनका कारण आफ्नो चलचित्रको छायांकन केही दिन पछि सरेको उनले राजधानीलाई बताए । यो चलचित्रको कलाकार कार्यशालासमेत सुरु गरेका बुढाथोकी अहिले यो फुर्सदको समयमा आफ्नो फिल्मको स्क्रिप्टलाई अझ पुनर्लेखन गर्न व्यस्त छन्, ‘अहिले स्क्रिप्ट फाइनल गर्ने, पुस्तक पढ्ने, फिल्म हेर्नेमै दिन बितेको छ । लकडाउन खुलेपछि फिल्मको सुटिङ सुरु गर्ने योजनामा छु,’ बुढाथोकीले राजधानीसँग भने ।

गत वर्ष सफल चलचित्र ‘जात्रैजात्रा’ दिन सफल अर्का निर्देशक प्रदीप भट्टराई पनि लकडाउनको समयलाई नयाँ चलचित्र लेखनमा सदुपयोग गर्दै छन् । अभिनेता निर्माता रवीन्द्रसिंह बानियाँको व्यानर र मह सञ्चारको ब्यानरमा संयुक्त निर्माण हुने नयाँ चलचित्रको स्क्रिप्ट लेखनमा उनी अहिले व्यस्त छन् । लकडाउन चाँडै खुल्छ भन्ने विश्वासले सुरुका दिनमा घरमै आराम गरेर बसे पनि लकडाउन लम्बिन थालेपछि आफूहरू चलचित्र लेखन कार्यमा व्यस्त भएको यी निर्देशकले बताएका छन्, ‘केही महिनापछि सुटिङमा जाने हाम्रो योजना छ । अहिलेको समय फिल्मको स्क्रिप्ट लेखनमै बितिरहेको छ भने हरिदाइहरूसँग भिडियो कलबाटै फिल्मको स्क्रिप्ट लेखन कार्यबारे छलफल र लेखन भइरहेको छ,’ निर्देशक भट्टराईले राजधानीसँग भने ।

अर्का निर्देशक दीपेन्द्र लामाले पनि आफ्नो छायांकन भइरहेको चलचित्र ‘२ नम्बरी’को स्क्रिप्टलाई अझ कसिलो बनाउने अवसर पाएका छन् । यसबारे उनले राजधानीसँग भने, ‘चलचित्रको ७० प्रतिशत छायांकन बाँकी छ । कोरोना संक्रमणले सुटिङ रोकिएपछि चित्त नबुझेको ठाउँमा पुन स्क्रिप्टलाई पुनर्लेखन गरेर कसिलो बनाउँदै छु ।’ उनले पनि अब लकडाउन खुलेपछि बाँकी छायांकन सुरु गर्ने बताएका छन् ।

निर्देशक दीपेन्द्र के खनालले पनि अहिलेको लकडाउनको समयलाई सिनेमाको कथा सिर्जनामै खर्चिरहेका छन् । यसै विषयमा उनले भने, ‘अहिले म नयाँ चलचित्रको स्क्रिप्टभन्दा पनि अनलाइन कथालेखनमै व्यस्त छु । कथालाई टुंग्याएपछि त्यसलाई स्क्रिप्टमा ढाल्ने काम सुरु गर्नेछु ।’ यो लकडाउनले बाहिर जानुपर्ने तनाव नभएका कारण फिल्म लेखनमा आफूलाई निकै सजिलो भएको यी निर्देशकको भनाइ छ । लकडाउनका धेरैवटा बेफाइदा भए पनि एकान्तमा सिर्जना गर्नेहरूका लागि यो सही समय भएको पनि उनले राजधानीलाई बताए । उनी भने आगामी भदौपछि मात्र छायांकनमा जानेछन् ।

अर्का निर्देशक विकास आचार्य पनि यतिबेला आफ्नो नयाँ फिल्म ‘नाइँ नभन्नु ल–६’ को तयारीमा व्यस्त छन् । उनको यो चलचित्र पनि वैशाखबाट छायांकन सुरु गर्ने तयारी हुँदै थियो । तर, कोरोना संक्रमणसँगै मुलुकमा लकडाउन निरन्तर बढेपछि उनी पनि अहिले आफ्नो चलचित्रको स्क्रिप्टलाई अझ सशक्त बनाउन र छायांकनको तयारी गर्न व्यस्त छन् । उनी पनि लकडाउन खुलेपछि छायांकनमा जानेछन् ।

Recent Comments

Top