logo
Advertisement

दैनिक ज्यालादारी श्रमिकको खानपानको व्यवस्थापन गर

४ बैशाख २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिक तथा लकडाउनमा पैदल घर गइरहेका नागरिकका लागि बसोबास तथा खानपिनको व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत लकडाउनका कारण विशेष गरी ती वर्गका नागरिकलाई समस्या परेको भन्दै उचित व्यवस्थापन गर्न माग गरेका छन्।

खाँणले सरकारले कोभिड-१९ को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि प्रभावकारी तयारी गर्न नसकेको तथा स्वास्थ्य सामग्री र उपकरण खरीदमा ढिलाइ भएको आरोप लगाएका छन्। संकटको यो बेला प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर नबनेको कांग्रेसको टिप्पणी छ।

महामारी नियन्त्रण, न्यूनीकरण तथा उपचारका लागि अहोरात्र अभूतपूर्व योगदान गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिमा काँग्रेसले सम्मान व्यक्त गरेको छ। रासस

Recent Comments

Top