logo
Advertisement

विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

२ बैशाख २०७७, मंगलवार मा प्रकाशित

लम्की । कोभिड–१९ बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउंँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले आजदेखि अभियान शुरु थालेको छ । लम्की चुहाले ४८४ र जानकीले २३७ जना विदेशबाट आएको पत्ता लगाएका छन् ।

यसरी पत्ता लगाएका व्यक्तिको सोमबारदेखि ¥यापिड टेष्ट शुरु गरिएको लम्कीचुहाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी गराउनुभयो । ‘‘ अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ’’, बिसीले भन्नुभयो, ‘‘लम्कीका दुई नागरिकमा कोभिड –१९ संक्रमण देखिएपछि झन् त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिक पनि खोज्न थालेका हौंँ ।’’

यता कैलालीको धनगढीपछि ठूलो जनसंख्या भएको नगरपालिका टीकापुरमा पनि अभियान आजदेखि शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । रावलका अनुसार टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेविका गरी २५४ जना परिचालन गरिएको छ । परिचालित स्वास्थ्यकर्मी र स्वयंसेविकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, साबुनपानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । यसबाहेक विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेण्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड– १९ का लक्षण तथा बच्ने उपायबारे जानकारी गराउनेछन् । तीन दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको स्वास्थ्य शाखा संयोजक रावलले बताउनुभयो ।

‘‘ तीन सय ३० जना विदेशबाट आएकाहरुको तथ्यांक टीकापुर नगरपालिकासंँग छ । यसको दोब्बर संख्या हुन सक्ने अनुमान हाम्रो छ ’’, रावलले भन्नुभयो,‘‘तथ्यांक संकलनपछि र्यापिड टेष्ट गरिने छ ।’’ नगरपालिकामा ६० जनाको र्यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।
कैलालीमा त्रास

सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको नयाँ संक्रमण फेला परेपछि यहाँका नागरिक त्रस्त छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिनअघि लम्की पुग्नुभएको थियो । लम्की चुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु नेपाल र भारतको वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । तीमध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको पनि बताइन्छ । सोमबार कोरोना संक्रमण पुष्टि भएकी महिला वीरगञ्ज नाका नजीक चिया बेच्ने काममा संलग्न रहेको बताइन्छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँं रहेका सबैको ¥यापिड टेष्ट गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको ¥यापिड टेष्ट नेगेटिभ आए पनि स्वाबको पिसिआर टेष्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको नमूना पोजेटिभ आएपछि संक्रमित महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट नेगेटिभ आएपछि नयाँ वर्ष मनाउन घर जान पाउनुपर्ने माग गर्न थालेकाले उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै गत चैत २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । ती महिलाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताउनुभयो । संक्रमितसंँग क्वारेन्टाइनबाट घर पठाइएका बाँकी १६ जनालाई समेत सोमबार फेरि क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमितको लम्कीमा घर नभएको र आफन्तका घरमा गएको बुझिएको छ । संक्रमित क्वारेन्टाइनबाट फर्किएपछि उहांँ बसेका आफन्तको घर र अरु सम्पर्क भएकाहरुको पहिचान भइरहेको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने वडाध्यक्ष जनक बमले जानकारी दिनुभयो ।

Recent Comments

Top