स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्वर ५ बाँसटारीमा आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको छ । स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ तथा कटेराहरु जलेर नष्ट भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट २३ लाख १३ हजार बराबरको प्रारम्भिक क्षति भएको छ । शुक्रबार दिउँसो लागेको आगो नियन्त्रणका लागि वालिङ नगरपालिकाबाट दमकल सहित प्रहरी, स्थानीय, नेपाली सेना लगायत प्रयोग गरी नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार नेत्र प्रसाद न्यौपानेको गोठमा कुँडो पकाउनको लागि बालिएको आगोे अचानक गोठमा सल्किएसँगै वरपरी फैलिएकाले ठुलो क्षति भएको बताए । आगलागीमा परी नेत्र प्रसाद न्यौपानेको १ गोठ तथा १ कटेरो जलेका छन् भने २ वटा भैसी समेत मरेका छन् । त्यस्तै छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैसी गम्भिर घाइते भएका छन् । यसैगरी सन्तोष पाण्डेको २ वटा कच्ची घर तथा एक कटेरो जलेको प्रहरीले जनाएको छ ।
आगलागीमा परी तारा प्रसाद न्यौपानेको गोठ र कटेरो जलेको छ भने राम प्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ । गर्मी मौसम र हावाहुरी चल्ने समय भएकाले आगलागीका घट्नाहरु हुन सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
Recent Comments